Section 7
एकलौटी कारोबार गर्न नहुने
: (१) कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवाको उत्पादन वा वितरण एकलौटी कारोबार (एक्सक्लुसिभ डिलिङ्ग) गर्न गराउन हुँदैन।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कुनै प्रतिष्ठानले देहायको कुनै शर्त राखी कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गरेमा एकलौटी कारोबार गरेको मानिनेछ ः-
(क) कुनै व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवा बाहेक अन्य व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको त्यस्तै प्रकृतिको वस्तु वा सेवा खरिद नगर्ने वा त्यस्तो व्यक्ति वा प्रतिष्ठानसँग तत्सम्बन्धी कुनै कारोबार नगर्ने,
(ख) खण्ड (क) बमोजिमको शर्त पालना गरी वस्तु वा सेवाको खरिद बिक्री वा कारोबार गरेमा बढी सहुलियतपूर्ण शर्तमा वस्तु वा सेवा आपूर्ति गर्ने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रतिष्ठानले आफ्नो मुख्य वा सहायक प्रतिष्ठानबाट मात्र कुनै वस्तु वा सेवा प्राप्त गर्ने वा आफ्नो अधिकृत बिक्रेता वा एजेन्सी मार्फत आफ्नो वस्तु वा सेवा वितरण गर्ने व्यवस्था भएकोमा एकलौटी कारोबार गरेको मानिने छैन ।